बागलुङ : बागलुङमा पछिल्लो केही दिन यता श्रृङ्खलावद्ध चोरीका घटना भएका छन् । एकपछि अर्को गर्दै चोरी घटना बढ्न थालेपछि प्रहरीले पनि सक्रियता बढाएको छ । आईतबार राती साढे १२ बजेको समयमा बागलुङ को उपल्लाचौरबाट मोटरसाईकल चोरी गर्दै गर्दा एक १६ वर्षे दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ध १ ज २२२१ नम्बरको मोटरसाईकल चोरी गरी सकडमा डो¥याउँदै हिँडेको बेला प्रहरीले भेटेपछि भाग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउपछि सोधपुछ गर्ने क्रममा उपल्लाचौरमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गरी भाग्ने प्रयास गरेको पाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले बताए । उनीहरुलाई जिल्ला अदालत बागलुङबाट म्याद थपी अनुसन्धान जारी रहेको बताईएको छ ।
उनीहरुलाई सोधपुछ गर्ने क्रममा बागलुङ नगरपालिका—३ मूलपानी बस्ने १८ वर्षका कुनाल बोहोराको निर्देशनमा आफुहरुले उक्त चोरी गरेको जानकारी दिएको उनले बताए ।
उनीहरुले माघ २९ गते राती बागलुङ नगरपालिका—२ शिवधाराचोकमा रहेको सुजन बोहोराका पसलको ढोका फोडी मोबाईल चोरै निज कुनाललाई दिएको तथा हल्लनचोक तल रहेको सुदिप पौडेलले सञ्चालन गरेको मोबाईल पसलमा मर्मतका लागि छाडेको भनि खुलाएकोमा उक्त पसलमा गई हेर्दा विभीन्न कम्पनीका मोबाईल फेला परेको प्रहरीले जनाएको छ ।
पसलमा पुगेर खोज तलास गर्दा १ थान आईफोन, सुनौलो रङको सामसुङ ड्युज, सामसुङ एमआई १ थान मोबाईल, ए टेन सामसुङ १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रतिबादी कुनाल बोहोरलाई खोजी गर्दा सोमबार बिहान बालमन्दिर चोकमा फेला पारी साथबाट सामसुङ ड्युज मोबाईल बरामद गरिएको छ ।
उनले बागलुङ बाजरमा रहेको शिव स्टोर, किरना पसल, लक्ष्मी होटल, लालिगुरास चोकमा पार्किङ गरी राखेको पिकअप भ्यान भित्र राखेको कष्मेटिक सामानहरु, लालिगुरास चोकमै पार्किङ गरी राखेको पिकअप भ्यान भित्र राखेको समानहरुसहित ९ स्थानमा चोरी गरेको बताएको सूचना अधिकारी भण्डारीले बताए ।