बागलुङ उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभा सम्पन्न

बागलुङ उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभा सम्पन्न

  • पौष १९, २०७७ आइतवार
  • १७:५६:५९ बजे
  • 4.8K
    SHARES
  • बागलुङ उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभा सम्पन्न

    बागलुङ : बागलुङ उद्योग वाणिज्य संघ बागलुङको ५७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

     साधारणसभाको उद्घाटन गर्दै सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले राजनीतिको व्यापारीकरण र व्यापारीको राजनीतिकरणले समस्या सिर्जना गरेको बताएका छन् । ‘व्यापारी व्यावार गर्ने हो र राजनीतिज्ञले राजनीति गर्ने र देशको कानुन व्यवस्था सुधार्ने हो,’ उनले भने,‘अहिले यो दुबै क्षेत्रमा समस्या देखिएको छ । राजनीतिको व्यापारीकरण र व्यापारीको राजनीतिकरणले समस्या पैदा भएको हो ।’

     पछिल्लो समय विकास भएको राजनीतिक घटनाक्रमले कोरोनाले तहस नहस बनाएको अर्थतन्त्रलाई थप थला पार्ने देखएको उनले चिन्त व्यक्त गरे । 

    Baglung chamber 3.jpg

    ‘अलिहे विकास भएको राजनीतिक घटनाक्रमले फेरि आन्दोलन हुने, व्यापार व्यवसाय चौपट हुने हो कि भन्ने देखाएको छ,’उनले भने,‘राजनीतिक अस्थीरताले अर्थतन्त्रमा पनि अस्थीरता पैदा गर्छ ।’ स्पष्ट नबोले पनि संसद विघटनर्फ ईङ्गित गर्दै श्रेष्ठले ८ वर्ष लगाएर बनाएको संविधान फेरि धरापमा पर्न थालेको उल्लेख गरे ।

     ‘हामीले राजनीति परिवर्तनका लागि लामो समय खर्च गरेका छौं, ८ वर्ष लगाएर संविधान निर्माण ग-यौं,’ श्रेष्ठ भन्छन्,‘अहिले फेरि राजनीतिमा विकृति विसंगति देखिन थालेको छ । त्यस असर अर्थतन्त्रमा पनि छ । संविधान नै समस्यामा पर्छ कि भन्ने देखिन थालेको छ ।’

    विगतमा कर्णालीकै पहिचानमा रहेको बागलुङको पछिल्लो समय पहिचान फेरिएको श्रेष्ठले गर्व गरे । ‘हामीले पढ्दा त बागलुङ भन्ने नाम नै आउँदैनथ्यो,’उनी भन्छन्,‘अहिले बागलुङ सम्भावना बोकेको ठाउँको रुपमा परिभाषित हुन थालेको छ । अब सेवा र उत्पादन मार्फत यहाँको समृद्धिमा सबै लाग्नुपर्छ ।’ 

    Baglung chamber 2.jpg

    श्रेष्ठले बागलुङले बागलुङको समृद्धि के मा छ भन्ने पहिचान गर्नु जरुरी रहेको समेत जिकिर गरे । ‘यहाँ आउँदा पाउने ठ्याक्कै फरक पहिचान के हो के उत्पादन छ भन्ने हामीले पहिचान गर्नुपर्छ,’उनी भन्छन्,‘अन्त नपाईने यहाँ मात्रै पाईने वस्तुलाई अगाडी ल्याउन सक्यौं भने हामीले बजार पनि पाउँछौं र हाम्रो आर्थिक विकास पनि हुन्छ ।’

    श्रेष्ठले विश्वको ९० प्रतिशत रोजगारी निजी क्षेत्रले उत्पादन गरेको भन्दै ८० प्रतिशत राजस्व र ६० प्रशित लगानीमा निजी क्षेत्रको हिस्सेदारी रहेको उल्लेख गरे । नेपालको कुल ग्राहस्थ उत्पादनमा ३९ प्रतिशत योगदान निजी क्षेत्रको भएकाले सरकारको महत्वपूर्ण सहयोगी निजी क्षेत्र रहेको बताए ।

     उनले उद्योगकोको योगदान ६ प्रतिशत मात्रै भएको भन्दै उद्योगमा लगानी बढाउन आग्रह गरे । ‘हाम्रो निजी क्षेत्रले व्यापारका क्षेत्रमा मात्रै ध्यान दिए जस्तो देखिन्छ, बाहिरबाट आयात गर्ने र विक्री गर्ने कुराले ठूलो महत्व राख्दैन,’ उनले भने,‘देशको आर्थिक विकासका लागि यहाँको उद्योगको विकास हुनुपर्छ । उद्योग क्षेत्रको योदान ६ प्रतिशत मात्रै देखिन्छ । यसमा लगानी बढाउन आग्रह गर्छु ।’ नेपालको निर्वाहमुखी अर्थतन्त्रमा उपभोक्तावादी चरित्र हाबी भएकोमा उनको गुनासो छ । 

    Baglung chamber 1.jpg

    ‘अहिले पनि नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको छ, तर त्यसको उत्पादन मुलक क्षेत्रमा प्रयोग भएको छैन,’ उनी भन्छन्,‘कमजोर अर्थतन्त्र भएको बेला हामीले बढि उपभोग गर्ने र कम उत्पादनमा लगाउने काम गरेका छौं । यो हाम्रो लागि फाईदा जनक छैन ।’

    उद्योगी व्यवासायीले अर्को उद्योग स्थापना गर्नका लागि नाफा कमाउनु जरुरी रहेको भन्दै श्रेष्ठले त्यसका लागि राज्यले सहयोग गर्नुपर्ने बताए । ‘तीनै तहको सरकारले उद्योगको क्षेत्रमा लगानी गर्ने वाताबरण सिर्जना गर्नुपर्छ,’ उनले भने,‘उद्योगी व्यापारीले नाफा कमाएन भने त कसरी नयाँ उद्योग व्यवासाय सुरु हुन्छ र राज्यले कर पाउँछ ?’ 

    उद्योगी व्यवसायीको कल्पनाशील र सिर्जनात्मक क्षमता हरायो भने देशका लागि दुर्भाग्यपूर्ण हुने उनी बताउँछन् । देशको आर्थिक संरचना नै परिवर्तन गर्नुपने उनको तर्क छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले तीन तहको सरकारले उद्योग व्यवसायमा लगानीमैत्री वाताबरण सिर्जना गर्न नसकेको बताए ।

    Baglung chamber 5.jpg

    ‘संघियता आएपछि देशमा तीन तहको सरकार छन्, तर तीन तहकै सरकारले लगानीमैत्री वाताबरण सिर्जना गरेका छैनन्,’ उनले भने,‘ उद्योगी व्यवसायी मैत्री सरकार नभएसम्म देशको अर्थतन्त्र बलियो हुन सक्दैन । व्यवसायीले लगानी गर्न सक्दैनन् ।’

     निजी क्षेत्र भनेको नाफाखो हुन् भन्ने सरकारी निकायको सोंच नबदलिएसम्म समस्या जस्ताको त्यस्तै हुने उनी बताउँछन् ।

    ‘यीनीहरु नाफाका लागि आएका हुन् नाफा बाहेक केही हेर्दैनन् भन्ने धारणा परिवर्तन हुनु जरुरी छ,’ढकालले भने,‘निजी क्षेत्रले अहिलेको महामारीमा सहयोग मागेको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि हो । आफनो व्यक्तिगत स्वार्थका लागि होईन ।’ महासंघले नियमनकारी निकायसंग समन्वय गरेर साना देखि ठूलो व्यवसायीसम्मको समस्या समाधानका लागि पहल गर्ने उनले विश्वा दिलाए । 

    Baglung chamber 4.jpg

    ढकालले कोरोना महामारीका कारण अगाडी बढ्न नसके पनि बागलुङमा गर्ने भनिएको काम रोकिएको आफुले देखिने गरी बागलुङमा कुनै काम गर्ने बताए । महासंघको साधारणसभामा वरिष्ठ उपाध्यक्ष ढकाल सहित उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको सिंगो कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । साधारणभाको अवसरमा पाँच जना व्यवासायीलाई सम्मान गरिएको छ । 

    विनायक बस्त्रालयका पवनकुमार श्रेष्ठ, मनसुन दालमोठका यमप्रसाद कंडेल, कंडेल सप्लायर्सका डिलप्रसाद कंडेल, खड्का एग्रोका अगनबहादुर खड्का र प्रशान्ती किराना पसलका प्रताप कंडेललाई सम्मान गरिएको हो । खोजमुलक आर्थिक पत्रकारिरता पुरस्कारबाट नगद ११ हजार १ सय ११ रुपैयाँ सहित पत्रकार मुकेशचन्द्र राजभण्डारीलाई सम्मान गरिएको छ । 

    Last page.jpg

    कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका सहायक प्रमुख धु्रबराज गौतम, नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश अध्यक्ष सञ्जीव बहादुर कोइराला, राजनीतिक दलहरुको तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष चित्रबहादुर सापकोटा, जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, व्यवसायी पुष्पमान श्रेष्ठ, पूर्व अध्यक्ष श्याम श्रेष्ठ, सल्लाहकामर वसन्तकुमार श्रेष्ठ, महिला उद्यम व्यवसायी समितिका अध्यक्ष भगवती केसी, पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

     कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता, महासचिव नरेश कँडेलको सञ्चालन वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो ।

     

    सम्बन्धित समाचार