निसीखोलामा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन

निसीखोलामा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन

  • माघ २२, २०८१ मंगलवार
  • १९:३४:५३ बजे
  • 1.6K
    SHARES
  • निसीखोलामा लक्ष्यको ७० प्रतिशत राजस्व संकलन

    बागलुङ : जिल्लाको निसीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । निसीखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मिडियो प्रालीको सहजीकरणमा निसीखोला—२ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा चौमासिक प्रगति प्रतिदेवन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन पुनले हालसम्म ३०.८८ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए ।

     निसीखोला गाउँपालिकाको चालु आर्थिक वर्षका लागि ४८ करोड, ७८ लाख ७९ हजार ९ सय ४४ रुपैयाँ बजेट निर्धारण गरिएकोमा हालसम्म २५ करोड ६२ लाख ९८ हजार ६ सय ५५ रुपैयाँ अर्थात ५२ प्रतिशत निकासा भएको छ । त्यसमध्ये हालसम्म १५ करोड ६ लाख ६८ हजार पाँच सय २५ रुपैयाँ खर्च भएको छ । अहिलेसम्म चालुतर्फ ३७.३२ प्रतिशत र पुँजीगततर्फ ८.२३ प्रतिशत खर्च भएको पुनले जानकारी दिए । यस आर्थिक वर्षमा गाउँपालिकाले ५२ लाख ५० हजार ५ सय राजस्व संकलनको लक्ष्य राखेकोमा अहिलेसम्म ७० प्रतिशत लक्ष्य हाँसिल गर्न सफल भएको पुनले प्रतिवेदनमा उल्लेख गरेका छन् । हालसम्म गाउँपालिकाले ३६ लाख ७३ हजार ९ सय ३८ रुपैयाँ राजस्व संकलन भैसकेको उनले जानकारी दिए ।

     गाउँपालिकाको राजस्व बढाउनका लागि बगर तथा खानीहरुको वाताबरणीय प्रभाव मुल्याङ्कन आईइइ गर्ने तयारीमा रहेको उनले बताए । गाउँपालिकाले अहिलेसम्म १५ वटा योजना फरफारक गरेर भुक्तानी दिईसकेको छ । कुल २१० योजनामध्ये १२४ सम्झौता भएको र ८६ योजना सम्झौता हुन बाँकी रहेको उनले बताए । ५४ वटा योजनाको अनुगमन भएको छ । असार महिनालाई आरामको महिनाको रुपमा लिएको भन्दै उनले सबै योजनाहरु जेठ भित्रै सम्पन्न गरेर भुक्तानी दिईसक्ने रणनीति अनुसार काम अगाडि बढेको उनले जानकारी दिएका छन् ।

     गाउँपालिकाले सवारी सधान खरिदका लागि भनेर विनीयोजन गरेको ८० लाख बजेट हिउँदै अधिवेसनमा रकमान्तरण गरेर विकासको काम लगाएको जनाईएको छ । निसीखोला गाउँपालिकाको अहिलेसम्मको बेरुजु झण्डै २० करोड हाराहारीमा पुगेर यो वर्ष ६ करोड बढि बेरुजु फछ्र्यौट हुने उनले जानकारी दिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैं निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जनताको आकांक्षा धेरै भएको र सिमित स्रोत साधन भएकाले सबै मागहरु पूरा गर्न नसकिएको बताए । 

    ‘गाउँमा जनताको आवश्यकता र चाहानाहरु असिमित छन्, हामीले चाहेर पनि सबै काम गर्न सकेका छैनौं,’उनले भने,‘हामीसंग स्रोत साधनको निकै सिमितता छन ।’ उनले गाउँपालिकाले वडातहबाट नागरिकले छानेर पठाएका योजनाहरुलाई प्राथमिकता दिएर कार्यान्वयन गर्दै लगेको बताए । गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन निरीक्षणलाई सघन बनाएको उल्लेख गरे । ‘हाम्रा योजनाहरुमा तीन तहको अनुगमन हुन्छ, उपभोक्ता समिति भित्रैबाट अनुगमन हुन्छ, वडाले अनुगमन गर्छ र अन्तिम अनुगमन हामीले गाउँपालिकाबाट गर्छौं,’उनले भने । 

    कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा नम्बर १ का वडाध्यक्ष चन्द्रसिंह राम्जाली, वडा नम्बर २ का वडाध्यक्ष कुविर विक र वडा नम्बर ४ का अध्यक्ष टीकानिधि पौडेलका साथै विषयगत शाखा प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रममा हिराबहादुर पुन, फमबहादुर घर्ती, लिलाबहादुर बुढा, तेजेन्द्र पौडेल, भोटुकुमारी चन्द, जानसिंह सुनार, नवराज खत्री, रुद्रप्रसाद पौडेल, थमन घर्ती, होमबहादुर पुन, राजमान बुढामगर, भूमिराज घर्तीमगर, तुलबहादुर पौडेल, लक्कीश्वर पौडेल लगायतले विभिन्न प्रश्न र जिज्ञाशा राखेका थिए । 

    निसीखोला गाउँपालिका सुशासन समितिका संयोजक सवराज छन्त्यालको अधयक्ष सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार डम्मर बुढामगरले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन पत्रकार संगम घर्तीमगर र सार्वजनिक सुनुवाई आचार संहिता पत्रकार लोकेन्द्र सुनारले प्रस्तुत गरेका थिए । कार्यक्रममा टिप्पणी पत्रकार विजय रानाले गरेका थिए । 

     

  • सम्बन्धित विषय:

  • # निसीखोला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार