बागलुङ : निमोनिया र बाथ रोगले पीडित बागलुङको गल्कोट नगरपालिका—१ दुदिलाभाटीका राजेश विकलाई ५ लाख बढि आर्थिक सहयोग प्राप्त भएको छ ।
जापानमा कार्यरत बागलुङको गल्कोटवासी र नेपालका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुको सहयोगमा संकलित ५ लाख ६८ हजार ७ सय ८५ रुपैया राजेश बिकलाई हस्तान्तरण गरिएको हो । सो अवसरमा स्थानीय बिनोद कार्कीको नेतृत्वमा संकलित १४ हजार ९ सय ४६ र डायनामिक स्पोर्टस् क्लब झाँक्रिस्थानबाट प्राप्त ४ हजार ५ सय रुपैयाँ पनि पीडित विकलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हस्तान्तरण गरिएको थियो ।
सेवा नै धर्म हो भन्ने नाराका साथ जापानको विभिन्न ठाउँमा कार्यरत गल्कोटबासी र नेपालमा रहेका बिभिन्न जिल्लाका व्यक्तिहरुको सक्रियतामा संकलित उक्त रकम पिडित बिकको घरमै पुगेर हस्तान्तरण गरिएको थियो ।
उक्त रकम सहयोग संकलन अभियानमा सक्रिय जापानमा कार्यरत कमलबहादुर कार्कीको छोरा यामबहादुर कार्की, मिलन केसीको बुवा जगतबहादुर खत्री र गल्कोट नगरपालिका—१ का वडा अध्यक्ष नेत्र बुढाथोकीले हस्तान्तरण गरे । जापानमा रहेर सहयोग संकलनका लागि कमल कार्की, मिलन केसी, निमबहादुर खड्का, तारा खत्री तेजु, मेघराज रिश्मेली, लक्षुमण कार्की, मिनबहादुर खत्री, नेत्र थापा, तारा केसी थापा, याम बिक र कृष्ण खत्रीले पहल गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका—१ का वडा अध्यक्ष नेत्र बुढाथोकीले एउटा जुझारु युवा राजेश बिकको समस्या सवैको समस्या भएकाले उनको स्वास्थ्य लाभको कामना गर्दै प्रदान गरिएको सहयोग रकमको सहि सदुपयोग हुन जरुरी रहेको बताए ।
कार्यक्रम सहयोग दाता एवँ धौलागिरि एफ एम बागलुङका सम्पादक ताराप्रसाद शर्माले पनि मंतव्य व्यक्त गरेका थिए । पिडित बिकका बुवा मनबहादुर बिकले सहयोग दाताहरुलाई धन्यवाद ज्ञापन गरे ।
बाथ रोग र निमोनिया कारण बिकको शरिर नचल्ने अवस्था भएपछि उपचारका लागि परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिएको अभियान्ता कमलबहादुर कार्कीले बताए । उनले जापान लगायत नेपालको चितवन, पोखरा, पर्वत म्याग्दी, बागलुङका व्यक्तिहरुवाट पनि सहयोग प्राप्त भएको बताए ।
कार्यक्रम स्थानीय मिलिजुली आमा समुहका अध्यक्ष हिरादेवी परियारको अध्यक्षता र चौराह माविका शिक्षक नरबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।