अग्नी पीडित घर्तीलाई डिआईआरडिसी बागलुङको सहयोग

अग्नी पीडित घर्तीलाई डिआईआरडिसी बागलुङको सहयोग

  • माघ १४, २०७७ बुधवार
  • १७:१८:१३ बजे
  • 6.6K
    SHARES
  • अग्नी पीडित घर्तीलाई डिआईआरडिसी बागलुङको सहयोग

    बागलुङ : धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिआईआरडिसी) बागलुङले आगलागी पीडित जालबहादुर घर्ती ‘जीवन’लाई सहयोग गरेको छ ।

    गत पुस २५ गते आगलागीबाट घरगोठ ध्वस्त भएका जिल्लाको बडिगाड गाउँपालिका—३ सिसाखानीका घर्तीलाई डिआईआरडिसीले सहयोग गरेको हो । उक्त अवसरमा घर्ती परिवारका तीन जना सदस्यलाई एक/ एक सेट कपडा, सिरक डसना सहितको दुई सेट विस्तरा, दुई बोरा चामल, एक कार्टुन तेल, पाँच किलो दाल तथा दुई नुन सहयोग हस्तान्तरण गरिएको थियो ।

    सहयोग हस्तान्तरण गर्दै डिआईआरडिसी बागलुङका प्रोजेक्ट म्यानेजर शालिकराम शर्माले संस्थाले विपन्न समुदायसंग प्रत्यक्ष जोडिएर काम गर्दै आएको र आगोलागी भएर घर्ती परिवार घरवार बिहीन भएको थाहा पाएपछि सहयोग गर्ने निर्णयमा पुगेको बताए ।

    ‘आगोलागी हुँदा सबै नष्ट भएको र अन्यत्रबाट पनि खासै सहयोग नभएको थाहा पाएपछि हामीले सहयोग गर्ने निधो गरेका थियौं,’ शर्माले भने,‘हाम्रो कर्मचारी होमाको दाईलाई यो विपद परेका कारण पनि हाम्रो आफ्नो परिवार सम्झेर यो सानो सहयोग गरेका छौं । यो ठूलो सहयोग त होईन तर यसले दरिलो मन बनाएर अगाडी बढ्नका लागि हौसला पुग्ने विश्वास छ ।’

    उनले आपत विपदमा परेकालाई सबैले सहयोग गरेर पुनस्थापनाका लागि सहयोग गर्नुपर्ने समेत बताए ।

    ‘पीडामा परेकाहरुलाई सहयोग गरेर फेरि पहिलेकै अवस्थामा पुनस्थापना गर्न सहयोग गर्ने खालको नेपाली समाजको परम्परा पनि हो,’ उनले भने,‘अप्ठ्यारोमा सहयोग गर्ने हाम्रो परम्परालाई जोगाउँदै सहयोगी हातहरु अगाडी बढाउन सक्यौं भने पुनस्थापनाका लागि सजिलो पनि हुनेछ ।’ कार्यक्रममा बोल्दै डिआईआरडिसीका फाईनान्स अफिसर ज्ञानबहादुर थापाले अप्ठ्यारो अवस्थामा थप हिम्मतका साथ अगाडी बढ्नुपर्ने बताए ।

    ‘यो दुःखद घटना हो, यस्तो बेलामा हिम्मत नहारी अगाडी बढ्नुपर्छ,’ उनले भने,‘त्यसका लागि सबैले प्रेरणा र सहयोग दिन जरुरी छ ।’ गत पुस २५ गतेको आगलागीका कारण घर्तीको घरगोठ पुरै जलेर नष्ट हुँदा १२ लाख बढिको क्षति भएको थियो । घरमा भएको अन्नपात, नगद पैसा, लत्ताकपडा, खाद्यान्न सम्पूर्ण जलेर नष्ट भएका थिए । घरमा आगो लागेपछि निभाउने प्रयास गर्दा घर्तीकी श्रीमती दिलमाया भुजेल घर्तीको खुट्टा भाँचिएको छ । उनको धौलागिरि अस्पतालमा खुट्टा प्लास्टर गरिएको छ ।  

    सहयोग ग्रहण गर्दै घर्तीले आपतको बेला सहयोग गरेकोमा धन्यवाद दिए । ‘म बाहिर कामम गएको बेला घरमा अचानक आगलागी भएछ, शरिर लगाएको बाहेक एक टुक्रा कपडा र एक गेडा अन्न पनि बचाउन सकिएन,’उनले भने,‘भएको पैसा, सबै सम्पत्ती जल्यो । यस्तो पीडाको अवस्था सहयोग गर्नुभयो डिआईआरडिसी परिवारलाई धन्यवाद ।’

    कार्यक्रमको सञ्चालन डिआईआरडिसीका प्रशिक्षक पार्वती परियारले गरेकी थिईन् ।

    डिआईआरडिसी बागलुङले विपन्न नागरिकलाई स्वरोजगार मूलक तालिम र स्कुल गल्र्स हाईजिन प्रोजेक्ट सञ्चालन गरिरहेको छ । स्वरोजगार मूलक तालिम अन्तर्गत सिलाई कटाई र पलम्बर तालिम सञ्चालन गर्ने गरेको छ ।

    स्कुल गल्र्स हाईजिन प्रोजेक्ट अन्तर्गत जिल्लाका विभीन्न विद्यालयमा विशेषगरी किशोरीहरुलाई स्वास्थ्य सरसफाई र महिनावारी सम्बन्धी सचेतनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ ।  

    सम्बन्धित समाचार