कलाकार प्रकाश सपुतलाई गृह जिल्ला बागलुङमा सम्मान

कलाकार प्रकाश सपुतलाई गृह जिल्ला बागलुङमा सम्मान

  • माघ १, २०७७ बिहिवार
  • १२:५४:५९ बजे
  • 9.2K
    SHARES
  • कलाकार प्रकाश सपुतलाई गृह जिल्ला बागलुङमा सम्मान

    बागलुङ : बहुचर्चित कलाकार प्रकाश सपुलाई बिहीबार गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ ।

    बागलुङको काठेखोला गाउँपालिका—३ धम्जामा जन्म भई कलाकारिताको क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका कलाकार सपुतलाई यहाँको आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले आदर्श विशेष सम्मानबाट सम्मान गरेको हो ।

    उनलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । सपुतलाई निवर्तमान संघीय सांसद मनकुमारी जिसी, संस्थाका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, सम्पादक रामबहादुर जिसीले नगद सहित दोसल्ला र प्रशंसापत्रले सम्मान गरेका थिए ।

    २०६६/०६७ सालतिर आदर्श सञ्चार सहकारीले प्रकासन गर्दै आएको धौलागिरि जागरण दैनिकमा कलाकार प्रकाश सपुतले संवाददाताको रुपमा काम गरेका थिए । संघर्षकालिन समयमा धौलागिरि जागरण दैनिकमा काम गरेर अहिले कलाकारिताको क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका सपुतलाई सम्मान गरिएको हो ।

    छोटो समयमै कालजयी सिर्जना मार्फत आम नेपाली दर्शक स्रोताको मन मुटुमा बस्न सफल गायक, सर्जक तथा नायक प्रकाश सपुतको बाल माया, गलबन्दी, दोहोरी व्याटल, बदला बरिलै निकै चर्चा कमाएका गित बजारमा आएका छन् ।

    उनले पछिल्लो समय बजारमा सार्वजनिक गरेको फुटेका चुरालाई पनि दर्शक स्रोताले उत्तिकै मन पराएका छन् । कलाकारिताको क्षेत्रमा मौलिकतालाई प्राथमिकता दिंदै केही न केही नयाँ गर्न रुचाउने सपुतमा एउटा पूर्ण गित तयार हुनका लागि आवश्यक सबै खुबीहरु छन् ।

    यहाँको माटोमा हुर्केर यही संघर्ष गरेर अहिले जीवनमा निकै माथि पुगेका सपुतलाई विगतको स्मरण र धरातल नभुल्न सचेत गराउनका लागि यो सम्मान गरिएको आदर्श सञ्चार सहकारीका कार्यकारी सम्पादक दिल शिरीषले बताए । सम्मान ग्रहणपछि बोल्दै कलाकार सपुतले विगतका संघर्षका समयलाई स्मरण गरे ।

    ‘मैले बागलुङमा आउने बहाना खोजिरहेको हुन्छु, मलाई बागलुङ आउन भनेपछि निकै खुसी लाग्छ,’ उनले भने,‘यहाँ रहँदा बस्दा मैले धेरै संघर्ष गरेको छु । मैले रेडियोमा काम गरें, धौलागिरि जागरण दैनिकमा मैले तलब कति पाएँ ठ्याक्कै याद छैन तर एक वर्ष काम गरें । त्यतिबेला जीवन चलाउनका लागि धेरै संघर्ष गरेको छु ।’

    कलाकारिता क्षेत्रमा प्रवेश गर्नका लागि २०६७ सालमा आदर्श सञ्चार सहकारीबाट ऋण लिएर काठमाडौं गएको पनि उनले स्मरण गरे ।

    ‘त्यतिबेला मसंग काठमाडौं जाने पैसा थिएन, माग्ने ठाउँ पनि थिएन,’ उनी भन्छन्,‘आदर्श सञ्चार सहकारीमा आमा र म सेयर बसेर दिल शिरीष दाई साक्षी राखेर केही ऋण लिएर अलिकति आमालाई दिएर अलिकति मैले लिएर गएको थिएँ ।

    २०६७ साल जेठ १९ गते नाईट बसको ११ नम्बर सिटमा बसेर काठमाडौं छिरेको हुँ ।’ कलाकारिताको क्षेत्रमा लाग्दा काठमाडौंमा रहनु परे पनि बागलुङका धेरै कुराहरु स्मरण हुने उनले सुनाए ।

    saput 1.jpg

    ‘बागलुङ मोफसल भए पनि यहाँको धेरै कुरा काठमाडौंमा मैले पाउँदिन,’ उनी भन्छन्,‘म धेरै कुरामा रुची भएको मान्छे, काठमाडौंमा जे आफ्नो क्षेत्र हो त्यहींमा मात्रै कुरा गर्ने मान्छे भेट्छु ।

    मलाई गितसंगित मात्र होईन राजनीतिमा के हुँदैछ भन्ने कुरामा चासो हुन्छ, दलितको अवस्था के हुँदैछ, महिलाको अवस्था कस्तो छ भन्ने विषयमा पनि गफ गर्न मन लाग्छ । काठमाडौंमा यस खालको मान्छे पाउँदिन, बागलुङमा धेरै जना धरै विषयमा जानकारी हुनुहुन्छ । यो कुराले मलाई अझ ज्यादा बागलुङको याद दिलाउँछ ।’

    सपुतले आफ्ना सिर्जनामा अझै पनि बागलुङको संगत प्रतिविम्बित हुने गरेको उल्लेख गरे । ‘मेरो सिर्जनाको साक्षी तपाईहरु हो, मेरो बारेमा केही भन्दिन पर्यो भने पनि तपाईहरुले भन्दिने हो, अहिले पनि मेरा सबै सिर्जनामा बागलुङमा रहँदाका संगतहरु झल्किन्छन् ।’

    बागलुङ धम्जाको सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मेर अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सपुतले चर्चा कमाएका छन् । सपुतको गितमा मनोरञ्जन मात्रै नभई सामाजिक सन्देश समेत समावेश हुन्छ ।

    सर्जक र गायक तथा निर्देशकको रुपमा निकै माथिको उचाई प्राप्त गरेका सपुत नेपाली चलचित्र प्रदेशी–२ बाट नायकको रुपमा समेत नेपाली सिने जगतमा प्रवेश गरेका छन् । नारायण रायमाझीले निर्माण निर्देशन गरेको उक्त चलचित्रको हालै छायाङ्कन सम्पन्न भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # प्रकाश–सपुत
  • # बागलुङ
  • # सम्मान’

  • संगम घर्तीमगर

    उहाँ बागलुङ पोस्ट डटकमका कार्यकारी सम्पादक हुनुहुन्छ ।

    सम्बन्धित समाचार