बागलुङ : बागलुङमा असारको मध्येसम्म २५ प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लामा झण्डै २५ प्रतिशत रोपाइँ सकिएको हो ।
जिल्लामा कुल ७ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । हालसम्म करिब १२ सय हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले बताए । ‘यस वर्ष वर्षा निरन्तर परेको छ । सिमसार क्षेत्र मात्र हैन अन्य क्षेत्रमा पनि रोपाइँ हुन्छ,’ भट्टराईले भने,–‘अघिल्लो वर्ष भन्दा रोपाइँ बढि हुने विश्वास गरेका छौं । पानी नियमित परेमा लगभग सबै क्षेत्रमा राम्रो रोपाइँ हुनेछ ।’ उनले किसानहरुलाई सहजका निम्ति प्रविधिको विकाससँगै जोडिन आग्रह गरेका बताए ।
यस वर्ष झण्डै ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुने ज्ञान केन्द्रले जनाएको छ । मंगलबार असार १५ राष्ट्रिय धान दिवस मनाईएको छ । सबैतिर धान दिवस मनाईरहँदा किसानले भने रोपाइँका लागि खेताला नपाउँदा समस्या भएको बताउने गरेका छन् ।
गाउँमा खेताला नपाउँदा समयमै रोपाइँ गर्न नसकेको बागलुङ नगरपालिका—४ का कृषक पूर्णप्रसाद सापकोटाले गुनासो । ‘गाउँमा काम गर्ने कोही छैन, भएका युवाहरु पनि विदेश गए । न खन्ने बाउसे पाईन्छ न खेताली, गोरुको सट्टा त हाते ट्रयाक्टर छ, खेताली र बाउसे पाउनै छाड्यो,’ उनले भने । गाउँघरमा खेतला नपाउँदा रोपाइँ गर्नका लागि निकै मुस्किल भएको सापकोटा बताउँछन् । ‘समयमै पानी परेकोले यस वर्ष रोपाई अलि छिटो भयो सापकोटाले भने,–‘पहिले त गाउँभरी सबैको एकै पटक भएर होला भन्ने लाग्थ्यो । यसपाली असारको पहिलो साता नै खेत रोपाइँ गर्न खोज्दा पनि खेतला पाउन मुस्किल भयो । बल्लतल्ल दुई दिन लाग्ने मेलो ३ दिनमा सकियो अझै केही दिनलाई बाँकी छ । त्यो कसरी रोप्ने हो गाह्रो भैरहेको छ ।’
उनले कृषिमा आधुनिकिकरण गर्ने भने पनि हालसम्म त्यही हाते ट्रयाक्टर बाहेक अन्य आधुनिक यन्त्रहरु केही नहुँदा किसानहरुले समयमा खेतीपाती लगाउन नपाएको बताए । गाउँमा भएका युवाहरु पनि जिल्ला बाहिर र विदेशीएका कारण काम गर्ने खेताला पाउन छाडेको सापकोटा बताउँछन् । कुँडुलेमा मात्र हैन यो समस्या जिल्लाको गलकोट, बडिगाड जैमिनी, बागलुङ र ढोरपाटन क्षेत्रका किसानहरुलाई पनि रहेको छ ।
गलकोट क्षेत्रमा जेठको तेस्रो सातादेखि नै सुरु गरिएको रोपाइँ अन्य क्षेत्रमा भने खोला किनार तथा तटीय क्षेत्रमा सुरु भएको छ । कृषकहरु यतिबेला धान रोप्नमै व्यस्त छन् । यो साल समयमै पानी परेकोले धान रोप्न सहज भएको किसानहरु बताउँछन् ।