जिल्लाको ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ३५ करोड ५१ लाख ८६ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको छ ।
जसमा पूजिगत तर्फ १० करोड ९१ लाख ४५ हजार ९ सय ९८ रुपैयाँ र चालु तर्फ ससर्त अनुदान सहित १८ करोड ८० लाख ४१ हजार बिनियोजन गरिएको हो । पर्यटन प्रवद्र्धनकै लागि गाइघाट झरना पुननिर्माण र व्यवस्थापन गरेर आर्कषण बढाउन १५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
गाउँपालिकाले पर्यटन गाउँ बिकासकालागि स्टोन भिलेज कार्यक्रम सहितको बजेट ल्याएको छ ।
बजेटमा पर्यटन गुरुयोजना र डिपिआर बनाउने लक्ष समेत छ । डिपिआर अनुसार गाउँपालिकामा बजेट परिचालन गरेर आर्थिक समृद्धि ल्याउने उपाध्यक्ष दिलकुमारी पुनले बताइन् । यस अघि पर्यटन प्रवद्र्धनकालागि गाउँपालिकाले तनहुँको बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिका सँग मितेरी साइनो जोडिसकेको छ । ती पालिकाको स्मरणमा मितेरी स्तम्भ समेत स्थापना गरिने बताइएको छ ।
आर्थिक बिकास तर्फ कृषिलाई जोड दिएको छ । जसमा कृषि बिकास कार्यक्रम संचालनकालागि ४८ लाख ५० हजार रकम बिनियोजन छ । करिमेला गाउँलाई स्टोन भिलेज बनाउन यो बजेटमा १५ लाख बिनियोजन छ । सामाजिक बिकास तर्फ बालबिकास सहजकर्ताको तलब बढाउन ४२ लाख ४० हजार बजेट बिनियोजन गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाकालागि मोवाइल रिचार्ज र १० बर्षे जीवन बिमा कार्यक्रमकालागि बजेट बिनियोजन भएको छ । स्वास्थ्य तर्फ बर्षभरीनै कोभिड नियन्त्रण कार्यक्रम संचालन गरिने उल्लेख छ । पुर्वाधार विकास तर्फ वडा नं. १ देखी गाउँपालिका जोड्ने सडकका लागि १ करोड ४१ लाख ६६ हजार रकम, घुस्मेली गाउँपालिका जोड्न १ करोड १६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारको साझेदारीमा प्रशासनिक भवन निर्माणका लागि २ करोड ६ लाख ४० हजार र भवन तथा शहरी विकासमा ३० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले बताईन । आगामी वर्षका लागि पशु विकास तर्फ बाख्रा पकेट कार्यक्रम पाडापाडी प्रर्वद्धन कार्यक्रमका लागि ४२ लाख रुपैयाँ र पशु विकास तर्फ १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
सुसासन तथा क्षमता विकासका लागि ४२ लाख र गाउँपालिकाको प्रशासनि खर्च ६ करोड २२ लाख बिनियोजन गरिएको छ ।